गाउँबस्तीमा दसैँको रौनक, बजारमा चहलपहल
- ०२ कार्तिक २०८३
- १ मिनेटको पढाई
बडादसैँ सुरु भएसँगै भोजपुरका गाउँबस्तीमा रौनक बढेको छ। रोजगारी र पढाइको सिलसिलामा बाहिर रहेकाहरु गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ। अहिले गाउँघरमा घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने र मठमन्दिरमा पूजाआजा गर्ने चटारो छ।
दसैँका लागि आवश्यक लत्ताकपडा र खाद्यान्न किन्नेहरुको भीड लागेपछि सदरमुकामसहित दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा व्यापार बढेको छ। यसैगरी, गाउँमा पालिएका खसीबोका, कुखुरा र तरकारीको माग बढेकाले स्थानीय किसानको आम्दानीसमेत राम्रो भएको छ।
कामको व्यस्तताले टाढिएका परिवारका सदस्य एकै ठाउँमा जम्मा भएर सुखदुःख साट्ने र मान्यजनबाट टीका लगाउने तयारीमा मानिसहरु जुटेका छन्। युवा पुस्ता गाउँबाहिर जाने क्रम बढे पनि दसैँले आपसी सद्भाव बढाउन र पुरानो मौलिक संस्कृतिलाई जोगाउन मद्दत गरेको छ।