३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, सहर सुनसान गाउँमा बढ्यो रौनक

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, सहर सुनसान गाउँमा बढ्यो रौनक

दसैँ मनाउन देश तथा विदेशबाट आफ्नो गाउँ फर्किने मानिसहरुको लर्को लागेको छ। गाडी पाउन मुस्किल र बाटोको यात्रा निकै कष्टकर भए पनि परिवार र आफन्तसँग भेट्ने आशमा मानिसहरु खुसी हुँदै गाउँ फर्किरहेका छन्। मानिसहरु गाउँ गएपछि अहिले सहरहरु खाली हुँदैछन् भने गाउँबस्तीमा दसैँको रौनक बढेको छ।

विशेषगरी कर्णाली प्रदेशका हिमाली र दुर्गम गाउँ पुग्न यात्रा झनै गाह्रो छ। भारतबाट जुम्ला पुगेका नमराज शाहीले सहरभन्दा गाउँमा मानवीय भावना र आपसी सद्भाव धेरै भएको बताए। अहिले गाउँमा नयाँ अन्न भित्र्याउने, पिङ खेल्ने र दुःखसुख साट्दै रमाइलो गर्ने काम भइरहेको उनले सुनाए।

दुई दिन लगाएर हुम्ला पुगेका मनरुप परियारले गाउँ पुग्दा बाटोको सबै दुःख बिर्सिएको बताए। त्यसैगरी सर्लाहीबाट जुम्ला जाँदै गरेकी बिन्दुकुमारी सिंहले रोजगारीका लागि सहर पस्नु बाध्यता भए पनि शान्ति र मेलमिलाप गाउँमै पाइने बताइन्। सहरको भिडभाड घटेर यतिबेला गाउँघर दसैँको उमङ्गले रङ्गिन बनेका छन्।