आरुघाटस्थित बूढीगण्डकीमा सेनाले दुई दिनमै जोड्यो ‘बेलिब्रिज’, सडक आयोजनालाई हस्तान्तरण
- ०२ कार्तिक २०८३
- १ मिनेटको पढाई
काठमाडौँ – नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमा दुई दिनमै ‘बेलिब्रिज’ जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
गत असोज २५ गते आएको बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि त्यहाँ आवतजावत ठप्प भएको थियो। त्यसपछि सेनाले असोज ३१ गतेदेखि बेलिब्रिज जडान कार्य सुरु गरेको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तीव्र गतिमा काम गर्दै दुई दिनमै निर्माण सम्पन्न गरी आज सडक आयोजनालाई पुल हस्तान्तरण गरिएको हो।
करिब २७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ रहेको यो बेलिब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखा आसपासका नागरिकलाई आवतजावत गर्न सहज भएको छ। छोटो समयमै पुल तयार गरी यातायात सहज बनाएको भन्दै स्थानीयले सेनाको प्रशंसा गरेका छन्। पुल बनेपछि बाढी प्रभावित क्षेत्रमा राहत र दैनिक उपभोग्य अत्यावश्यक सामग्री ढुवानी गर्न ठूलो मद्दत पुग्ने सेनाले जनाएको छ।