३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

दशैँ मनाउन १० लाखले छाडे काठमाडौं, देशभरको सुरक्षा अवस्था सामान्य

दशैँ मनाउन १० लाखले छाडे काठमाडौं, देशभरको सुरक्षा अवस्था सामान्य

बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी मानिस आ-आफ्नो घर गएका छन्। महानवमीसम्म सार्वजनिक बस, निजी सवारी र मोटरसाइकलबाट उनीहरु बाहिरिएका हुन्। नेपाल प्रहरीले दशैँमा देशभरको शान्ति सुरक्षा सामान्य र बलियो रहेको बताएको छ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले अहिलेसम्म कुनै ठूला दुर्घटना वा आपराधिक घटना नभएको जानकारी दिए। उनले यात्रुलाई सजिलो होस् भनेर देशभर ४०८ ठाउँमा २४ सै घण्टा चल्ने ‘यात्रु सहायता कक्ष’ राखेको बताए। ती कक्षमा ट्राफिकसहितका प्रहरी खटिएर यात्रुका समस्या तत्काल समाधान गरिरहेका छन्।

यस पटक प्रहरीले शंकास्पद कुरा देखे तत्काल खबर गर्ने अभियान चलाएको छ। सर्वसाधारणले प्रहरीको १०० नम्बरमा फोन गरेर दिएको सूचनाका आधारमा प्रहरी टोली तत्काल खटिएर सेवा दिइरहेका छन्। चाडपर्वमा कुनै असामान्य वा शंकास्पद गतिविधि देखे नजिकको प्रहरी वा १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले सबैलाई आग्रह गरेको छ।