२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने

जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधिहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधिहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ ।

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ ।