मुम्बईमा आँधीले होर्डिङ बोर्ड भत्किंदा १४ जनाको मृत्यु, ६० जना घाइते
- ०१ जेष्ठ २०८१
- १ मिनेटको पढाई
नयाँ दिल्ली : मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठूलो होर्डिङ भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाटकोपर (इ) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ बेलुका ४:३० मा एक्कासी आएको भीषण हावाहुरीले खसेको हो । यो ७० गुणा ५० मिटरको थियो।
अधिकारीहरुका अनुसार पानी र हावाहुरीका कारण ठूलो संख्यामा मानिसहरु अड्किएका थिए । घटनास्थलमा उद्धार कार्य राति अबेरसम्म जारी रहेको र केही मानिस अझै फसेको आशंका छ ।
एनडीआरएफ टोली पनि राहत कार्यमा जुटेका छन् ।
मुम्बई म्युनिसिपल कर्पोरेशन कमिश्नर भूषण गगरानीले सोमबार राति पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, ‘घाटकोपरमा होर्डिङ बोर्ड खसेर दुर्भाग्यपूर्ण घटना भएको छ। अहिलेसम्म ६४ जनालाई राजावाडी अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये एक जना मात्रै गम्भीर बिरामी छन् । कुल चार जनाको मृत्यु भएको छ र हामीले घटनास्थलमा चार जनाको मृत्यु भएको जानकारी प्राप्त गरेका छौं।’
उनले भने, ‘अझै पनि २० देखि ३० जना भित्र फसेका छन्, उनीहरुलाई बाहिर निकाल्ने काम भइरहेको छ, मुख्यमन्त्रीले थप कारबाहीका लागि निर्देशन दिएका छन्, भोलिदेखि नै कारबाही थाल्छौँ ।’
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै दुर्घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘म त्यहाँ थिएँ। त्यहाँ आँधी चलिरहेको थियो। हामीले कार साइडमा पार्क गर्यौं। त्यतिबेला धेरै पानी परिरहेको थियो, त्यसैले हामी केही बेर बस्यौं … एक्कासी बोर्ड खसेको थियो, जसमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनसहित धेरै थिचिएका थिए ।’