७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

स्विस लेकसाइड पार्कमा नग्न पुरुषद्वारा महिला जगरको हत्या

स्विस लेकसाइड पार्कमा नग्न पुरुषद्वारा महिला जगरको हत्या

स्विट्जरल्यान्डको लेकसाइड पार्कमा एक नग्न व्यक्तिले चिच्याउँदै मानिसहरूमाथि हमला गर्दा एक महिला जगरको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ ।

स्विट्जरल्यान्डको सबैभन्दा ठूलो सहरबाट करिब २० किलोमिटर दक्षिणपूर्वमा जुरिच तालमा रहेको मान्नेडोर्फमा मङ्गलबार बेलुका उक्त हमला भएको जुरिच क्यान्टोनल प्रहरीले बतायो । उन्नाइस वर्षीय एक संदिग्धलाई पक्राउ गरिएको छ ।

“मङ्गलबार बेलुका मान्नेडोर्फमा एक व्यक्तिले महिलामाथि हमला गर्यो र उनलाई गम्भीर घाइते बनायो, ती महिला जगिङका लागि निस्किएकी थिइन्”, प्रहरीले भनेको छ, “साँझ ८ बजेभन्दा केही समयअघि बटुवाहरूले अल्मा पार्कमा एक नग्न व्यक्ति यताउता भागिरहेको र चिच्याउँदै अन्य मानिसमाथि शारीरिक हमला गरिरहेको सूचना दिए ।”
“आपत्कालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुग्यो र गम्भीर घाइेत महिलालाई भुइँमा लडेको फेला पार्यो, तत्काल होसमा आए पनि गम्भीर चोटका कारण उनको मृत्यु भयो”, प्रहरीले भनेको छ, “घटनास्थलमा फेला परेका १९ वर्षीय संदिग्ध अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।”

पीडितको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हमलाको पृष्ठभूमि तथा पीडक र पीडित एकअर्काबीच परिचित थिए वा थिएनन् भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।

सोधपुछपछि पक्राउ परेका संदिग्धलाई गम्भीर हिंसात्मक अपराधका लागि सरकारी वकिलको जिम्मा लगाइने प्रहरीले बताएको छ ।