पोर्चुगलले बन्द गर्यो सजिलै कार्ड दिने प्रक्रिया, हजारौं नेपाली प्रभावित
- २३ जेष्ठ २०८१
- २ मिनेटको पढाई
बार्सिलोना । युरोपेली मुलुक पोर्चुगलले आप्रवासन नीतिमा कडाइ गरेको छ । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नयाँ योजना घोषणा गर्दै आप्रवासन नीतिमा कडाइ गरेका हुन् ।
नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल जान पाउने छन् । यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे । तर, त्यो अब बन्द हुने भएको छ ।
यो घोषणापछि हजारौं नेपाली प्रभावित हुने आकलन गरिएको छ । आप्रवासी सम्बन्धि नीतिमा कडाइ गर्ने नयाँ योजनाले पोर्चुगलको सपना बुनेका हजारौं नेपाली प्रभावित बन्ने भएका हुन् नयाँ व्यवस्थाले हालसालै पोर्चुगल पुगेर पनि आवास अनुमतिको प्रकिया सुरु गरिनसकेका नेपालीहरू पनि समस्यामा पर्नेछन् ।
पोर्चुगल सरकारले रेसिडेन्सी कार्डको लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द गरिसकेको छ । पोर्चुगल सपना देखेर नेपालदेखि माल्टा, रोमानिया, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने भएका छन् । अब पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड बन्ने कुनै सम्भावना छैन ।
‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द भएसँगै पोर्चुगल छिरिसकेका नेपालीभन्दा पनि छिर्ने योजनामा रहेका नेपाली समस्यामा परेका छन् ।
मुख्यत: युरोपेली मुलुकहरू माल्टा, रोमानिया, क्रोएशियाबाट पोर्चुगल जाने योजनामा रहेका हजारौं नेपालीको भविष्य अन्योलमा परेको छ । कामका लागि यी मुलुकहरुमा नेपाली आउने भए पनि अन्तिम गन्तव्य भने पोर्चुगललाई नै बनाउँदै आएका थिए ।
बेलायत, डेनमार्कलगायतका मुलुकमा रहेका विद्यार्थीलाई पनि भिसाको समस्या देखिएपछि पुग्ने अन्तिम गन्तव्य पोर्चुगल नै थियो।त्यसो त पूर्वी युरोपेली मुलुकबाट अवैधानिक बाटो हुँदै महिनौं लगाएर पोर्चुगल पुग्ने नेपालीको संख्यामा पनि ठुलो थियो ।
बाटोमै पासपोर्टलगायत डकुमेन्ट फ्याँकेर अवैधानिक रुपमा पोर्चुगल छिर्नेको बाटो पनि अब बन्द भएको छ । सभा, सम्मेलन, सेमिनार, मेलामा आउने नाममा सेन्जेन भिसा लिएर पोर्चुगल छिर्नेको ढोका पनि बन्द भएको छ ।
पोर्चुगल जाउला र कार्ड बनाउला भन्दै एजेन्टलाई लाखौ रुपैयाँ बुझाएर बसेका नेपाली पनि समस्यामा पर्ने देखिएको छ । अन्य युरोपेली मुलुकको भिसा लगाएर पोर्चुगल छिर्ने उनीहरुको सपना पनि अब तुहिने भएको हो । त्यस्तो जमातको संख्या नेपालमा ठुलै रहेको अनुमान गरिएको छ ।