३ असार २०८२, मङ्लबार
17 June 2025, Tuesday

गाजास्थित राष्ट्रसंघको शरणार्थी शिविरमा इजरायलको आक्रमण : २७ जनाको मृत्यु

गाजास्थित राष्ट्रसंघको शरणार्थी शिविरमा इजरायलको आक्रमण : २७ जनाको मृत्यु

काठमाडौं। गाजाको संयुक्त राष्ट्र विद्यालयमा भएको इजरायली हवाई आक्रमणमा २७ जनाको मृत्यु भएको छ। विद्यालयमा  शरण लिइरहेका हमासलाई लक्षित गरेर उक्त हमला गरेको इजरायली सेनाको दाबी छ ।

गाजाको केन्द्रीय क्षेत्रमा भएको सो विद्यायलयमा सयौं विस्थापितले शरण लिइरहेको बीबीसीले जनाएको छ।  नुसेरात शरणार्थी शिविरस्थित विद्यालयको माथिल्लो तल्लाको कक्षा कोठामा इजरायली युद्ध जहाजले दुई वटा मिसाइल प्रहार गरेको स्थानीय पत्रकारले बताएका छन् ।

हमासको मिडिया कार्यालयले इजरायलमाथि ‘भयावह नरसंहार’ को आरोप लगाएको छ । इजरायलको दाबीलाई अस्वीकार गर्दै संयुक्त राज्य विद्यालयमा हमासको कुनै ‘कमान्ड पोस्ट’ नभएको हमास मिडिया कार्यालयका निर्देशक इस्माइल अल-थवाब्ताले बताए।

एम्बुलेन्स र उद्दार टोलीले घाइते र मृतकलाई नजिकैको अस्पताल लगेका थिए । सामाजिक संजालमा राखिएको भिडिओमा कक्षाकोठा नष्ट भएको र शव गृहमा लास राखिएको देखिन्छ।

७ अक्टोबरमा देखि सुरु भएको इजरायल–हमासबीचको युद्धमा, गाजामा करिब ३६ हजार ५ सय नागरिक मारिएको हमासको अधिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।