२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

गाजामा युद्धविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्‍बाट पारित

गाजामा युद्धविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्‍बाट पारित

न्युयोर्क- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌ले गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ।

सुरक्षा परिषद्‌मा रहने १५ सदस्यमध्ये १४ सदस्य युद्धविराम गर्ने पक्षमा उभिएका छन्। भिटो प्रयोग गर्ने अधिकार रहेको रूसले भने मतदानमा भाग लिएन।

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो। उक्त प्रस्ताव विशाल बहुमतले प्रस्ताव पारित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने प्रस्तावमा उल्लेख छ। पहिलो चरणमा बन्धक बनाइएकाहरूलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरूको शव फर्काउने उल्लेख छ।

इजरायली सेना गाजा क्षेत्रबाट हट्न शुरू गर्ने, युद्धका कारण विस्थापित भएकाहरूलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रूपमा मानवीय सहायता पुर्‍याउने पनि प्रस्तावमा उल्लेख छ।

दोस्रो चरण युद्धको स्थायी अन्त्यको चरण हुनेछ। यस चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्ण रूपमा हट्ने प्रस्ताव छ। तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम शुरू हुनेछ।