९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

 कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु

 कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु

 कुवेत सिटी : कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो ।

कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन् ।

तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् ।

जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडितहरू निस्सासिएका थिए ।

इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो ।

आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो । मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल–एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो । उक्त घटनाका पीडितहरूमा धेरै महिला र बालबालिका थिए ।