२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले स्वागत गरेका छन्।

उत्तर कोरियाको प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा मानिसहरु ठूलो संख्यामा भेला भएका थिए । मानिसहरुले हातमा रुसी र उत्तर कोरियाको झण्डा बोकेका थिए ।

राष्ट्रपति पुटिन र किम जोङ उन औपचारिक स्वागत समारोहका लागि प्योङयाङ सेन्ट्रल स्क्वायर पुगे। कोरियाली प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिइन्।

रूसी समाचारका अनुसार स्क्वायर स्थानीय बासिन्दाहरूले खचाखच भरिएको थियो। उनीहरु रुसी राष्ट्रपतिलाई स्वागत गर्न आएका थिए । त्यहाँ सैनिकको टुकडी पनि रहेको थियो । सो अवसरमा स्थानीय सैनिक अर्केस्ट्राले दुवै देशको राष्ट्रिय धुन पनि बजाएको थियो ।

पुटिनको भ्रमणमा किमले ठूलो स्रोत खर्च गरेका देखिन्छ।

पुटिन र किमबीचको भेटवार्तालाई चीन प्रशंसा गरेको छ। पुटिनले एक महिनाअघि मात्रै चीन भ्रमण गरेका थिए । यस क्रममा उनले आफू र चीनका सी जिनपिङ ‘दाजुभाइ जस्तै नजिक’ रहेको घोषणा गरेका थिए।

पुटिनको प्योङयाङ भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार भनेका छन्, ‘रुससँग परम्परागत सम्बन्ध भएका देशहरूसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्ने कार्यको बेइजिङले स्वागत गर्दछ।’