१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

अमेरिकी रिपोर्ट भन्छ– भारतमा ‘हेट स्पीच’ बढ्यो

अमेरिकी रिपोर्ट भन्छ– भारतमा ‘हेट स्पीच’ बढ्यो

वासिंटन । अमेरिकाले भारतमा हेट स्पीच तथा धार्मिक रूपमा अलपसंख्यक समुदायको घर र पूजास्थललाई ध्वस्त गर्ने जस्ता काम भइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका बारेमा अमेरिकाले जारी गरेको वार्षिक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ ।

सो रिपोर्ट अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेका हुन् । रिपोर्टमा भारतमा धर्मान्तरण विरोधी कानुनप्रति पनि चिन्ता व्यक्त गरिएको छ । यसअघि पनि भारतको बारेमा अमेरिकाले यस्तै धारणा राखेको भए पनि त्यतिबेला भारतले खण्डन गर्दै सो रिपोर्टलाई पक्षपातपूर्ण भएको बताएको थियो ।

पछिल्लो रिपोर्टमा भारतमा २०२३ मा धार्मिक स्वतन्त्रताको अवस्था निरन्तर खराब रहेको जनाइएको छ । भारतमा भाजपा नेतृत्वको सरकारले भेदभावपूर्ण राष्ट्रवादी नीतिलाई बढावा दिने काम गरेको, जसले समाजमा घृणालाई बढाएको समेत रिपोर्टमा जनाइएको छ ।

रिपोर्टमा मुसलमान, इसाइ, सिख, दलित, यहुदी र आदिवासीको खिलाफमा भइरहेको साम्प्रदायिक हिंसालाई हल गर्न भाजपा असफल भएको समेत जनाइएको छ ।

रिपोर्टमा भारतमा धर्मान्तरण विरोधी तथा गोहत्यालाई लिएर जुन कानुन छन् तिनले धार्मिक अल्पसंख्यक र त्यसको वकालत गर्नेलाई निशाना बनाउने काम भइरहेको जनाइएको छ ।

रिपोर्टमा इसाइविरुद्ध भारतमा सन् २०२३ मा ६८७ घटना भएको उल्लेख गरिएको छ । रिपोर्टमा मणिपुर हिंसा तथा क्यानडामा निज्जर हत्याकाण्डको प्रसंग समेत उठाइएको छ । बीबीसी