६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

कतारमा नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण बन्द, पुनः श्रम स्वीकृति पनि रोकियो

कतारमा नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण बन्द, पुनः श्रम स्वीकृति पनि रोकियो

दोहा — मध्यपूर्वमा बढ्दो सैन्य तनाव र युद्धको परिस्थितिलाई ध्यानमा राख्दै कतारस्थित नेपाली दूतावासले नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण (डिमान्ड लेटर भेरिफिकेसन) सम्बन्धी सम्पूर्ण कार्य रोकेको छ। दूतावासले मंगलबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि यो सेवा स्थगन गरिएको जानकारी दिएको हो।

नेपाल सरकारद्वारा गठित उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को निर्णयअनुसार दूतावासले यो कदम चालेको हो। अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण खाडी क्षेत्रमा सुरक्षा जोखिम बढेपछि सरकारले मध्यपूर्वका देशहरूमा नयाँ श्रमिक पठाउने प्रक्रियामा कडाइ गरेको छ।

मागपत्र प्रमाणीकरणका साथै दूतावासबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको कार्य पनि हाललाई बन्द गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन १७ गते नै मध्यपूर्वका द्वन्द्वग्रस्त देशहरूमा श्रम स्वीकृति दिन रोक्ने निर्णय गरिसकेको थियो। कतारमा रहेका नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन र आवश्यक परेमा दूतावासको सम्पर्कमा रहन समेत आग्रह गरिएको छ।