५ कार्तिक २०८३, बिहिबार
22 October 2026, Thursday

सैपुमा आयोजित अन्तरवडास्तरीय भलिबलको उपाधि वडा नम्बर ९ ‘ए’लाई, द्वितीय बन्यो वडा नम्बर ४ ‘ए’

सैपुमा आयोजित अन्तरवडास्तरीय भलिबलको उपाधि वडा नम्बर ९ ‘ए’लाई, द्वितीय बन्यो वडा नम्बर ४ ‘ए’

काठमाडौं – नमुना दीप युवा क्लबले आयोजना गरेको अन्तरवडास्तरीय भलिबलको उपाधि वडा नम्बर ९ ‘ए’ ले हासिल गरेको छ। बडादसैँ, तिहारको अवसरमा कात्तिक २ र ३ गते रामेछापको सैपुमा आयोजित भलिबलमा वडा नम्बर ४ ‘ए’ लाई पराजित गर्दै वडा नम्बर ९ ‘ए’ विजयी भएको अध्यक्ष निरोज पौडेलले जानकारी दिए।

उनका अनुसार वडा नम्बर ४ ‘ए’ द्वितीय भएको छ।

यसैगरी साविक वडा नम्बर ५ तृतीय  भएको छ। प्रतियोगितामा साविक वडा नम्बर ७ सान्त्वना भएको छ।

सचिव निरज पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण–पत्र, द्वितीयलाई नगद ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाण–पत्र र तृतीयलाई नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण–पत्र र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले नगद १० हजार प्रदान गरिएको छ। उनीहरुलाई सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले पुरस्कार प्रदान गरेका थिए।

खेलकुद विधाका उत्कृष्ट खेलाडी सम्मानित

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। प्रतियोगितामा साविक वडा नं. ५ का दिपेश भुजेल ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएका छन्। उनले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरी, उत्कृष्ट आउटसाइड हिटर वडा नं. ४ ‘ए’ का सबुत मगर, उत्कृष्ट अपोजिट साइड हिटर वडा नं. ९ ‘ए’ का ल्हाखु तामाङ , उत्कृष्ट सर्भर वडा नं. ९ ए का बाबुराम परियार र उत्कृष्ट सेटर वडा नं. ४ ए का राजु भुजेल, उत्कृष्ट ब्लकर वडा नं. ९ ‘ए’ का सुमन दर्जी र उत्कृष्ट लिबेरो वडा नं. ४ ‘ए’ का शेखर मगर घोषित भए। उनीहरुलाई नगद १ हजारसहितत मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।