श्रीमतीको हत्या आरोप लागेका नरेश भट्टको मुद्दा: पन्जा लगाएर फोहोर फालेको भिडिओ र करौंती प्रमाणका रूपमा पेस
- ०५ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – श्रीमती ममता काफ्ले भट्टको हत्या आरोप लागेका नरेश भट्टको मुद्दामा बुधबार दसौँ दिनको सुनुवाइ भएको छ। अदालतमा हाउजिङका प्रबन्धकहरूले निगरानी क्यामेराको भिडिओबारे बयान दिएका छन्। उक्त भिडिओमा नरेशले नीलो टेस्ला कारबाट झरेर हातमा पन्जा लगाउँदै फोहोर फाल्ने मेसिनमा भारी झोलाहरू फालेको देखिएको छ।
सुनुवाइका क्रममा नरेशको घरमा घाँस काट्ने काम गर्ने एक व्यक्तिले पनि बयान दिएका छन्। उनका अनुसार नरेशले घाँस काटेबापत उनलाई ब्याट्रीबाट चल्ने एउटा करौंती दिएका थिए। पछि नरेश पक्राउ परेको खबर सुनेपछि ती व्यक्तिले उक्त करौंती प्रहरीलाई बुझाएका थिए।
त्यस्तै, नरेशको घरको तल्लो तलामा बस्ने भाडावालाले प्रहरी आउनुअघि नरेशले सुत्ने कोठाका सामान सार्न सहयोग मागेको अदालतलाई बताए। उनीहरूलाई ममता हराएको बारे नरेशले केही बताएका थिएनन्। अर्का एक घरजग्गा व्यवसायीले ममता हराएपछि नरेशले सुटुक्क आफ्नो घर बेच्न खोजेको बयान पनि अदालतमा दिएका छन्। प्रहरीले घरमा गएर सोधपुछ गर्दा नरेशले श्रीमतीको फोन र आफ्नो बारेमा ढाँटेको कुरा प्रहरीले खिचेको भिडिओबाट खुलेको छ।