९ मंसिर २०८३, बुधबार
25 November 2026, Wednesday

रियादको वित्तीय केन्द्रमा हुथी विद्रोहीको आक्रमण, तीन नेपालीसहित ११ जना घाइते

रियादको वित्तीय केन्द्रमा हुथी विद्रोहीको आक्रमण, तीन नेपालीसहित ११ जना घाइते

रियाद – साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा यमनको हुथी विद्रोहीले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते भएका छन्। मङ्गलबार भएको उक्त आक्रमणमा दुई साउदी नागरिक, तीन नेपाली, दुई भारतीय र चार इजिप्टका नागरिक घाइते भएको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ।

आक्रमणलगत्तै सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा खटिएर जनधनको सुरक्षाका लागि आवश्यक कदम चालेका थिए। साउदी अधिकारीहरूले आधिकारिक रूपमा भवनको नाम नखुलाए पनि सार्वजनिक गरिएको तस्बिरमा साउदी सार्वजनिक लगानी कोषको मुख्यालय रहेको भवन देखिएको छ। घाइतेहरूको स्वास्थ्य अवस्था र भवनमा पुगेको क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले यस घटनालाई कायरतापूर्ण आतङ्कवादी आक्रमण भन्दै अनुसन्धान भइरहेको बताएका छन्। रियादको सबैभन्दा अग्लो मानिने सोही भवनमा एक साताभित्रै भएको यो दोस्रो आक्रमण हो। यसअघि गत बिहीबार भएको आक्रमणमा भवनका केही तलामा क्षति पुगे पनि मानवीय क्षति भएको थिएन।