९ मंसिर २०८३, बुधबार
25 November 2026, Wednesday

हिमतालको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जिवनी परियोजना’ सुरु

हिमतालको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जिवनी परियोजना’ सुरु

काठमाडौँ – हिमताल फुटेर आउने बाढीको जोखिमबाट हिमाली समुदायलाई जोगाउन करिब ५० मिलियन अमेरिकी डलरको ‘सञ्जिवनी परियोजना’ सुरु भएको छ । सन् २०२६ देखि २०३३ सम्म चल्ने यो परियोजनामा हरित जलवायु कोष, नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र निजी क्षेत्रको संयुक्त लगानी रहनेछ ।

परियोजना अन्तर्गत उच्च हिमाली क्षेत्रका चारवटा जोखिमयुक्त हिमतालको पानीको सतह घटाइनेछ । जसमा डोना, लुम्दिङ छ्यो र तल्लो बरुण हिमतालको पानी ३–३ मिटर तथा हङ्गु ‘दुई’ हिमतालको पानी १ मिटर घटाइने योजना छ । यसका साथै पूर्वसूचना प्रणाली सुधार, मौसम अनुगमन विस्तार र तल्लो तटीय क्षेत्रमा सुरक्षात्मक पूर्वाधार निर्माण गरिनेछ ।

यो परियोजनाबाट प्रत्यक्ष रूपमा ३ लाख ८५ हजारभन्दा बढी र तल्लो तटीय क्षेत्रका करिब २० लाख मानिस अप्रत्यक्ष रूपमा सुरक्षित हुने अपेक्षा गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीनराज सिंहले परियोजना सफल बनाउन सबै सरोकारवालासँग सहकार्य गरिने बताए । अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले हालै रसुवा–भोटेकोशीमा आएको बाढीले जलवायु जोखिम देखाएको भन्दै जोखिम न्यूनीकरणमा सरकार प्रतिबद्ध रहेको बताए ।

नेपालका लागि राष्ट्रसंघीय विकास कार्यक्रमकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले अर्को विपद् पर्खिनुको सट्टा पूर्वतयारीमै ध्यान दिनुपर्ने बताइन् । त्यस्तै, जल तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमतालहरू ‘टाइम बम’ जस्तै जोखिमपूर्ण बनेकाले तत्काल पानीको सतह घटाउन आवश्यक रहेको बताए । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको अनुसन्धान केन्द्रले विभिन्न सरकारी निकाय र स्थानीय तहसँगको समन्वयमा यो परियोजना कार्यान्वयन गर्नेछ ।