८ मंसिर २०८३, मङ्लबार
24 November 2026, Tuesday

अन्तर्राष्ट्रिय कलमा पल्स अवधि ३० बाट बढाएर ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलमा पल्स अवधि ३० बाट बढाएर ६० सेकेन्ड कायम

काठमाडौँ- नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवाबाट अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ । यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा कल गर्दा ६० सेकेन्डको पल्स अवधि लागू भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयबाट प्राप्त स्वीकृतिअनुसार यो परिवर्तन गरिएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणको स्वीकृतिमा अब सबै देशका दूरसञ्चार सञ्जालमा कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुनेछ ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी रहेका सबै देशमा समेत आजदेखि नयाँ व्यवस्था लागू भएको टेलिकमले जनाएको छ । अन्तर्राष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको सङ्केत राखेर नम्बर डायल गर्नुपर्छ भने विभिन्न देशको कल दररेट टेलिकमको आधिकारिक वेबसाइटबाट हेर्न सकिन्छ ।