साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल र छ हजार म्याट्रेस हस्तान्तरण
- ०८ मंसिर २०८३
- १ मिनेटको पढाई
काठमाडौँ- साउदी अरबको ‘किङ सलमान मानवीय सहायता तथा राहत केन्द्र’ ले नेपाल रेडक्रस सोसाइटीलाई आठ हजार थान न्यानो कम्बल र छ हजार थान म्याट्रेस सहयोग गरेको छ ।
नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मुनिरले आज सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष डा. विशालकुमार भण्डारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरे । बाढी प्रभावित तथा उच्च जोखिममा रहेका रसुवा, नुवाकोट, धादिङ र गोरखाका दुई हजार घर परिवारलाई लक्षित गरी यो सहयोग उपलब्ध गराइएको हो । सोसाइटीका महामन्त्री ईश्वरीदत्त खनालका अनुसार छनोटमा परेका प्रत्येक परिवारलाई चार थान कम्बल र तीन थान म्याट्रेस वितरण गरिनेछ ।
कार्यक्रममा अध्यक्ष भण्डारीले प्राप्त सामग्री जतिसक्दो चाँडो प्रभावित समुदायमा पुर्याइने बताए । राजदूत बिन मुनिरले मानवीय सहायताको साझा उद्देश्यअनुसार रेडक्रसमार्फत प्रभावितलाई सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । यस्तै, रेडक्रस तथा रेडक्रिसेन्ट अभियानका प्रतिनिधिहरू डेभिड फिसर र सन्देश श्रेष्ठले विपद् प्रतिकार्य तथा बेपत्ताको खोजी र शव व्यवस्थापनमा भइरहेको निरन्तर सहयोगबारे जानकारी दिए ।