एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याइरहेको अस्ट्रेलियाकी विदेशमन्त्रीको भनाइ
- ०८ मंसिर २०८३
- १ मिनेटको पढाई
क्यानबेरा- कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी आर्थिक, रणनीतिक तथा सैन्य शक्ति संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले बताएकी छन् ।
मङ्गलबार सङ्घीय संसद्मा सम्बोधन गर्दै उनले एआई तथा अन्य उदीयमान प्रविधिको तीव्र विकासले मानव जीवन, अर्थतन्त्र र सैन्य संरचनामा नयाँ आयाम थपिरहेको उल्लेख गरिन् । विगतका प्रविधिभन्दा तीव्र गतिमा विस्तार भइरहेका यस्ता प्रविधिको दीर्घकालीन प्रभाव पूर्ण रूपमा अनुमान गर्न कठिन रहेको उनको भनाइ छ ।
अत्याधुनिक एआई विकासको प्रतिस्पर्धामा तीव्र गतिलाई मात्र प्राथमिकता नदिई सुरक्षा, सावधानी र जिम्मेवारीलाई समेत महत्त्व दिनुपर्नेमा उनले जोड दिइन् । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै प्रविधिसम्बन्धी समस्याको समाधान र विश्वास अभिवृद्धिमा साझा प्रयास गर्ने नीति लिएको उनले बताइन् ।
यसैबीच, अस्ट्रेलिया सरकारले एआई विकासकर्ताका लागि नयाँ अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ । यो व्यवस्थाअनुसार कम्पनीहरूले सुरक्षा उल्लङ्घनबारे जानकारी गराउनुपर्नेछ भने नियम उल्लङ्घन गर्नेमाथि आर्थिक जरिवाना लगाउन छुट्टै नियामक निकाय स्थापना गरिनेछ । एआई प्रविधिमा लगानी र नवप्रवर्तनको स्वागत गर्दै त्यसबाट सबै अस्ट्रेलियाली नागरिकले लाभ पाउने वातावरण सुनिश्चित गर्नुपर्ने विदेशमन्त्री वोङले बताइन् ।