हिमालयको हिमक्षेत्र र जोखिम न्यूनीकरणबारे ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- ०८ मंसिर २०८३
- १ मिनेटको पढाई
काठमाडौँ- हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन र त्यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा भोलि मङ्सिर ९ देखि ११ गतेसम्म खुमलटारस्थित इसिमोडको कार्यालयमा सम्मेलन चल्नेछ ।
सम्मेलनमा हिउँ र हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटजन्य बाढी, हिमपहिरो तथा पर्वतीय समुदायको जीविकोपार्जनमा परेको असरबारे छलफल हुने इसिमोडले जनाएको छ । हिन्दुकुश हिमालय क्षेत्रको नदीमा करिब दुई अर्ब मानिस निर्भर छन् । सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको अध्ययनले देखाएको छ ।
अनुगमनमा रहेका ३८ हिमनदीमध्ये १८ प्रतिशतले मात्र विश्व हिमनदी अनुगमन सेवाको न्यूनतम मापदण्ड पूरा गरेका छन् । तथ्याङ्क अभावले दीर्घकालीन अनुमान र विपद् पूर्वतयारीमा समस्या भइरहेकाले सम्मेलनमा वैज्ञानिक अनुसन्धानलाई नीतिनिर्माण, लगानी र क्षेत्रीय सहकार्यसँग जोड्ने विषयमा विमर्श हुनेछ ।
जलवायु तथा वातावरणीय जोखिम प्रमुख चियाङगोङ झाङले विज्ञान, नीति र क्षेत्रीय सहकार्यलाई एकै ठाउँमा ल्याउनु महत्त्वपूर्ण कदम भएको बताए । वैज्ञानिक तथ्यलाई नीतिगत निर्णय र लगानीसँग जोड्न सके मात्रै यस क्षेत्रका साझा चुनौतीको प्रभावकारी समाधान गर्न सकिने उनले उल्लेख गरे । सम्मेलनमा स्वदेश तथा विदेशका वैज्ञानिक, नीतिनिर्माता, सरकारी निकाय र विकास साझेदार सहभागी हुनेछन् ।