प्रम शाहको भारत भ्रमण : २ खर्ब ४० अर्ब विकास सहायताको घोषणा, ऊर्जा र पूर्वाधारमा महत्त्वपूर्ण सहमति
- ०७ मंसिर २०८३
- २ मिनेटको पढाई
काठमाडौँ- भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । भारत भ्रमणमा गएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त विज्ञप्तिमार्फत यस्तो घोषणा गरिएको हो ।
घोषित रकममध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधारका लागि अनुदानका रूपमा प्राप्त हुनेछ भने १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइने छ । साथै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक केन्द्र स्थापना गर्ने घोषणासमेत भएको छ ।
वार्तापछि दुवै देशले भविष्यउन्मुख साझेदारीका लागि ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्र अङ्गीकार गरेका छन् । नेपालको तेस्रो मुलुकसँगको व्यापार सहज बनाउन भारतले गुजरातको दीनदयाल बन्दरगाह प्रयोग गर्न नयाँ पहुँच मार्ग दिने र आवश्यक पूर्वाधार बनेपछि ओडिशाको पारादीप बन्दरगाहसम्म पहुँच विस्तार गर्ने सहमति भएको छ ।
हवाई तथा रेल सम्पर्क विस्तारअन्तर्गत हाल एकतर्फी रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न अयोध्या र जनकपुरबीच सरयू–कमला रेल सेवाको उद्घाटन गरिएको छ भने रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको स्थलगत सर्वेक्षण टुङ्गिएको छ । नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्ने भएको छ ।
सीमापार आवागमन र ऊर्जा पूर्वाधारतर्फ दार्चुला र भारतको धार्चुला जोड्ने मोटर चल्ने पुलको उद्घाटन तथा बनबासामा नयाँ एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । यसै अवसरमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ भने झापामा पेट्रोलियम भण्डारण गृह र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास भएको छ । पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजना तथा सीमापार विद्युत् प्रसारण लाइन निर्माणलाई तीव्रता दिने सहमतिसमेत बनेको छ ।
भ्रमणका क्रममा नेपालमा भारतीय प्रविधि संस्थानको सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने सहमतिसँगै आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । जसमा अपराध अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद, भू–उपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा पशुधन र मत्स्य विकाससम्बन्धी सहकार्य समेटिएका छन् । भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् र मोदीले त्यसलाई स्वीकार गरेका छन् ।