अमेरिकी ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु
- ०६ मंसिर २०८३
- १ मिनेटको पढाई
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशङ्कामा अनुसन्धान सुरु गरेको छ। घटनाबारे जानकार एक स्रोतलाई उद्धृत गर्दै एसोसिएटेड प्रेस (एपी) ले एफबीआईले शनिबारदेखि उक्त साइबर आक्रमणको छानबिन थालेको जनाएको छ। यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो।
नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण विवरण सङ्ग्रह गरिन्छ। यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति र कानुन कार्यान्वयनसम्बन्धी अन्य विवरण समेटिएका छन्। स्थानीय, राज्य र सङ्घीय तहका कानुन कार्यान्वयन निकायले यो प्रणाली प्रयोग गर्दै आएका छन्।
सम्भावित साइबर आक्रमणबारे प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण मानिने यस प्रणालीमा अनधिकृत प्रवेशको आशङ्काले सुरक्षा व्यवस्थाप्रति गम्भीर चासो बढाएको छ। यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष र प्रभावित भएका सूचनाबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।