५ मंसिर २०८३, शनिबार
21 November 2026, Saturday

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै पोखरामा ‘आरयू फेस्ट’

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै पोखरामा ‘आरयू फेस्ट’

फोहरलाई समस्या मात्र नभई आर्थिक मूल्य सिर्जना गर्ने स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै पोखरामा दुईदिने ‘आरयू फेस्ट–२०२६’ सम्पन्न भएको छ। फोहरजन्य वस्तुको पुनःप्रयोग र प्रशोधनमार्फत उद्यमशीलता विकास, रोजगारी सिर्जना र वातावरण संरक्षणको सन्देश दिन पोखरा महानगरपालिकाले बुधबार र बिहीबार उत्सव आयोजना गरेको हो।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत यो दोस्रो संस्करण आयोजना गरिएको हो। उत्सवमा प्लास्टिक, बोतल, कपडा र कागजजस्ता फालिएका वस्तुबाट बनाइएका सामग्रीका ४२ वटा प्रदर्शनी तथा बिक्री कक्ष राखिएका थिए। पुराना कपडाबाट बनेका पहिरनको प्रदर्शनी, पोखरा थिएटरको ‘आरयू’ नाटक मञ्चन र बालबालिकाका लागि चेतनामूलक कथापुस्तक विमोचन उत्सवका मुख्य आकर्षण रहे।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फोहरलाई विसर्जन गर्ने वस्तुका रूपमा मात्र हेर्ने परम्परागत सोच बदल्न उत्सवले सहयोग गरेको बताए। प्राकृतिक स्रोतको संरक्षण, स्थानीय उद्यमशीलता र रोजगारी सिर्जनाका लागि फोहरलाई मोहरमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए। पोखरा महानगर प्रमुख धनराज आचार्यले फोहर पुनःप्रयोगमा आधारित उद्यमलाई बजारसम्म पुर्‍याउन र सरोकारवालाबीच सहकार्य बढाउन उत्सव आयोजना गरिएको जानकारी दिए।

पुराना पत्रिकाबाट सीसाकलम उत्पादन गर्दै आएकी उद्यमी सिर्जना तिवारीले आफ्ना उत्पादनको प्रदर्शनी र बजारीकरणका लागि उत्सव उपयोगी भएको बताइन्। यस्तै, अवलोकनकर्ता सूर्यप्रसाद तिमिल्सिना र छात्रा ग्रिष्मा चिलुवालले फोहरप्रतिको नकारात्मक सोच बदल्न र यसको सदुपयोगबारे सिक्न कार्यक्रम प्रभावकारी रहेको अनुभव सुनाए।

परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाका अनुसार पोखरामा हाल फोहर पुनःप्रयोग र प्रशोधनमा आधारित २३ वटा उद्यम सञ्चालनमा छन्। परियोजनामार्फत तीन हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। साथै, पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन सिकाइ केन्द्रबाट उद्यमीलाई व्यावसायिक परामर्श, प्रशिक्षण र बजार प्रवर्द्धनमा सहयोग गरिने महानगरपालिकाले जनाएको छ।