५ मंसिर २०८३, शनिबार
21 November 2026, Saturday

दक्षिण सुडानमा अमेरिकाबाट निष्कासितहरू भोकै, आफन्तले पठाएको रकम सुरक्षागार्डले हडपेको आरोप

दक्षिण सुडानमा अमेरिकाबाट निष्कासितहरू भोकै, आफन्तले पठाएको रकम सुरक्षागार्डले हडपेको आरोप

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले निष्कासन गरी दक्षिण सुडान पठाएका आप्रवासीहरूले त्यहाँ चरम भोकमरी र कष्टकर अवस्था भोग्नुपरेको छ। पीडित परिवारका अनुसार आफन्तले खानपिन र आवश्यक सामग्रीका लागि पठाएको अधिकांश रकम त्यहाँका सुरक्षागार्डले नै गोजीमा हालेका छन्।

सन् २०२५ को जुलाईमा अमेरिकी सर्वोच्च अदालतको आदेशपछि भियतनामका तुआन फानसहित आठ जना आप्रवासीलाई दक्षिण सुडान निष्कासन गरिएको थियो। मेक्सिको, क्युबा, भियतनाम, लाओस, म्यानमार र दक्षिण सुडानका ती व्यक्तिहरूले अमेरिकामा आपराधिक मुद्दाको सजाय भुक्तान गरिसकेपछि अध्यागमन हिरासतमा परेका थिए। पछि थप एक जनालाई पनि दक्षिण सुडानमै थुनामा राखिएको छ।

जुबास्थित हिरासतमा खाद्यान्न अभाव भएको खबर पाएपछि तुआन फानकी श्रीमती एनगोक फानले गत वर्ष नोभेम्बरमा पहिलो पटक एक सुरक्षागार्डलाई ३०० डलर पठाएकी थिइन्। त्यसपछि खाना सकिनेबित्तिकै गार्डहरूले पटक–पटक रकम माग्न थालेको परिवारजनले बताएका छन्। अन्य तीन जना बन्दीका परिवारले पनि चार जना सुरक्षागार्डलाई पटक–पटक गरी १०० देखि एक हजार डलरसम्म पठाएको रसिदले देखाएको छ।

आफन्तले रकम पठाए पनि बन्दीहरूले दिनौँसम्म खाना र सफा पिउने पानी नपाएको तुआन फानले बताए। करिब एक दर्जन सुरक्षागार्ड उनीहरूसँगै बसेर खाने भएकाले खाद्यान्न छिट्टै सकिने गरेको र कहिलेकाहीँ पिउने पानी नहुँदा आकाशको पानी थापेर खानुपरेको उनको भनाइ छ। इन्धन अभावका कारण हप्तौँसम्म बिजुली जाने र ढल प्रणाली बिग्रँदा भवनभरि दुर्गन्ध फैलिने गरेको उनले सुनाए।

ट्रम्प प्रशासनले आफ्नो देशले फिर्ता लिन नमानेका आप्रवासीलाई तेस्रो देशमा पठाउने नीतिअन्तर्गत हालसम्म ३० भन्दा बढी देशमा हजारौँ मानिसलाई निष्कासन गरिसकेको छ। यद्यपि, जुबामा रहेका एक बन्दीकी वकिल अल्मा डेभिडले कुनै अपराधको अभियोगबिनै आफ्ना पक्षलाई एक वर्षभन्दा बढी समयदेखि स्वेच्छाचारी ढङ्गले थुनामा राखिएको बताएकी छन्।