प्रधानमन्त्री शाहको भारत भ्रमण आर्थिक सहकार्य र पूर्वाधार विकासमा केन्द्रित हुने
- ०४ मंसिर २०८३
- १ मिनेटको पढाई
प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुईदिने भारतको राजकीय भ्रमण द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणमा आपसी सहकार्य, विकास निर्माण र आर्थिक गतिविधिका विषयले प्राथमिकता पाउने बताए।
सचिव राईका अनुसार भ्रमणका क्रममा सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास हुनेछ। यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा समझदारीपत्र आदानप्रदान गरिने उनले जानकारी दिए।
नेपालमा भारतीय लगानी आकर्षित गर्न नेपाल–भारत व्यावसायिक मञ्चको समेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा भारतीय व्यवसायीका चासो सम्बोधन गर्दै नेपालमा लगानीका लागि अनुरोध गरिने मन्त्रालयले जनाएको छ। भ्रमणप्रति उत्साहित नेपालको निजी क्षेत्रबाट ५२ जना उद्यमी–व्यवसायी आफ्नै खर्चमा भ्रमण दलमा सहभागी हुनेछन्।
भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। सोही दिन भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। मङ्सिर ७ गते सोमबार शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।
प्रधानमन्त्री शाह नेतृत्वको ३४ सदस्यीय औपचारिक प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।