प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट
- ०२ मंसिर २०८३
- १ मिनेटको पढाई
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिको बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।
भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। साथै, उनले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिए।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। भ्रमणका एजेन्डा तय भइसकेको उल्लेख गर्दै उनले भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।