बालविवाहलाई पुनःपरिभाषित गरी विवाहको उमेर १८ वर्ष कायम गर्न माग
- ०१ मंसिर २०८३
- १ मिनेटको पढाई
काठमाडौँ- मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सरोकारवालाहरूले माग गरेका छन्। महिला, कानुन र विकास मञ्च तथा इक्विलिटी नाउले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बालविवाहलाई पुनःपरिभाषित गर्नुपर्ने सुझाव दिइएको हो।
मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले कानुन मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा २० वर्ष नपुगी विवाह गर्न नपाइने तर १८ वर्षभन्दा कम उमेरमा विवाह गरे मात्र सजाय हुने व्यवस्थाले अन्योल बढाएको बताए। उनले यस्तो अस्पष्टता हटाएर सर्वसाधारणले सहजै बुझ्ने गरी स्पष्ट कानुन बनाउनुपर्नेमा जोड दिए। साथै, संविधानको मर्मअनुसार मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐन, २०७५ बीच एकरूपता हुनुपर्ने उनको भनाइ छ।
कार्यक्रममा बालविवाह गर्ने बालबालिकालाई कसुरदार नभई पीडितका रूपमा हेर्नुपर्ने सुझाव दिइएको थियो। बालविवाहका कारण उनीहरूमा पर्ने असर कम गर्दै शिक्षा र समग्र विकासको अधिकार सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।
इक्विलिटी नाउकी दक्षिण एसिया सूचना अधिकृत आकांक्षा सक्सेनाले कानुन निर्माण र कार्यान्वयनले मात्र समाज परिवर्तन नहुने भन्दै जनचेतना बढाउनु उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्। कार्यक्रममा अधिवक्ता दिद्वीक्षा सिंहले बालविवाहसम्बन्धी विभिन्न तथ्याङ्क प्रस्तुत गरेकी थिइन्।