शक्तिशाली एल निनोले विश्वभर खडेरी र खाद्य सङ्कट बढाउँदै
- ०१ मंसिर २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम बढेको छ। यसले ब्राजिलमा जङ्गलमा डढेलो, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घटाउने भन्दै संयुक्त राष्ट्रसङ्घ र मौसमविद्हरूले चेतावनी दिएका छन्।
प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा विश्वव्यापी वर्षा र तापक्रमको ढाँचा फेरिएको छ। डिसेम्बरमा उच्च विन्दुमा पुग्ने यसको प्रभाव सन् २०२७ सम्म रहने अनुमान छ। खडेरी र डढेलोका कारण ब्राजिलको पारा राज्य र पेरुले आपत्काल नै घोषणा गरेका छन्। ब्राजिलको अमेजन क्षेत्रमा जमिन सफा गर्न आगो लगाउनसमेत प्रतिबन्ध लगाइएको छ।
पानी कम पर्दा पश्चिम अफ्रिकाको प्रमुख कोको उत्पादक आइभोरी कोस्टमा यस वर्ष उत्पादन २५ प्रतिशतसम्म घट्ने मौसमविद्हरूको अनुमान छ। यसले किसानको आम्दानी र देशको निर्यातमा नराम्रो असर पार्नेछ। उता, इन्डोनेसियामा यो वर्ष लागेको डढेलोमा पनि एल निनोकै प्रमुख हात रहेको अनुसन्धानकर्ताले बताएका छन्। सन् २०२६ मा त्यहाँ करिब २९ लाख हेक्टर वन डढेलोबाट प्रभावित भएको छ।
राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रमुख अलेक्जान्डर डे क्रूले एल निनोको प्रभाव कम गर्न अहिले नै कदम चाल्दा करिब ३६ अर्ब डलर खर्च हुने तर ढिला गरे ७३ अर्ब डलर पुग्न सक्ने बताए। समयमै काम नगर्नु जलवायु नीतिको सबैभन्दा महँगो गल्ती हुने उनको भनाइ छ।
त्यस्तै, खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले खडेरी र बाढीले २२ भन्दा बढी देशमा खाद्य असुरक्षा थप बढाउने चेतावनी दिएको छ। एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले खाद्यान्न उत्पादन र सर्वसाधारणको पहुँच दुवै प्रभावित हुने भएकाले बाली, पशुधन र जलस्रोत जोगाउन बेलैमा तयारी गर्नुपर्नेमा जोड दिए।