बहराइनमा इरानको लगातार ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव बढ्यो
- ०१ मंसिर २०८३
- १ मिनेटको पढाई
इरानले मंगलबार बहराइनमा फेरि ड्रोन आक्रमण गरेको छ। पाँच दिनभित्रै बहराइनमा तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ।
यसैबीच, अमेरिकाविरुद्ध रासायनिक वा रेडियोधर्मी पदार्थ मिसाइएको खतरनाक बम प्रयोग गर्ने योजना बनाएको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ। अमेरिकी सञ्चारमाध्यमले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले यस्तो बम प्रयोग गर्ने योजना बनाएको समाचार बाहिर ल्याएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो खतराबारे गम्भीर रहेको बताएका छन्। उनले यो कुरा साँचो भए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
यता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले यो समाचारलाई झुठो भन्दै खण्डन गरेका छन्। इरानमाथि आक्रमण गर्न चाहनेहरूले सञ्चारमाध्यममार्फत आधारहीन आरोप फैलाएर वातावरण बनाइरहेको उनले बताए।
मंगलबार बहराइनको राजधानीमा विस्फोटका आवाज सुनिएपछि सुरक्षा निकायले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। बहराइनको सेनाले इरानबाट आएका आक्रमणलाई विफल पारेको जनाएको छ। तर, इरानको सैन्य समूहले भने त्यहाँ रहेको अमेरिकी सेनाको हवाई अखडाको राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
यसैबीच, कतारले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। अमेरिकी जलसेनाले थप युद्धपोत पठाएपछि सैन्य तनाव झन् बढ्ने चिन्ता थपिएको छ।