न्यूयोर्क : नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा तिहारको शुभकामना आदानप्रदान तथा समसामयिक राजनीतिक छलफल कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। नोभेम्बर ९, २०२६ (कात्तिक २३, २०८३) का दिन न्यूयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्वाङ, आदिवासी जनजाति महासंघका अध्यक्ष ए.पी. शेर्पा लामा, एनआरएनए अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व कोषाध्यक्ष विजय थुलुङ, पूर्व केन्द्रीय सदस्य टकबहादुर रुवाली, खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति तथा वडा अध्यक्ष फुनुरु शेर्पालगायत वक्ताहरूले तिहार तथा छठ पर्वको सांस्कृतिक महत्त्व, प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्था र भावी दिशाबारे आ–आफ्ना धारणा राखेका थिए। 
त्यसैगरी, नेपाली कांग्रेसभित्र देखिएका पछिल्ला राजनीतिक घटनाक्रम, सहमति, सहकार्य र एकताको आवश्यकता, संगठनलाई थप सुदृढ बनाउने उपाय तथा प्रवासमा रहेका नेपालीहरूको आवाज र सरोकारका विषयलाई नेपालको संसद्सम्म पुर्याउनुपर्ने आवश्यकताबारे समेत गहन छलफल भएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरका वरिष्ठ उपसभापति ङावा फिन्जु शेर्पा लामाले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य ध्रुव कुँवर क्षेत्रीले राखेका थिए। कार्यक्रम सञ्चालन च्याप्टरका महामन्त्री सुवास के.सी.ले गरेका थिए।
कार्यक्रम सञ्चालनका क्रममा महामन्त्री सुवास के.सी.ले नेपाली कांग्रेस तथा नेपाली जनसम्पर्क समितिभित्र देखिएका असमझदारी र मतभिन्नतालाई आपसी संवाद, समझदारी र सहमतिमार्फत समाधान गर्दै एकताको वातावरण निर्माण गर्नुपर्नेमा विशेष जोड दिएका थिए। उनले संगठनलाई विभाजन र असमझदारीतर्फ नभई आपसी विश्वास, सहकार्य र एकताको बाटोमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रमलाई सफल बनाउन कार्यसमिति सदस्यद्वय भरत भट्टराई र निर्मला बरालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। छोटो समयको तयारीका बाबजुद पनि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा समुदायका अगुवाहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमले प्रवासमा नेपाली समुदायबीच आपसी सद्भाव,सांस्कृतिक एकता र संगठनात्मक सहकार्यलाई थप मजबुत बनाउनुका साथै नेपाली कांग्रेसभित्र आपसी संवाद, सहमति र एकताको वातावरण निर्माण गर्न सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
आयोजक नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिगण, अग्रज व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सहयोगी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
– बेगम पण्डित, त्रिवेणी टाइम्स