न्युयोर्क- धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा शिक्षाविद् तथा सामाजिक उद्यमी डा. राजेन्द्र केसीसँगको विशेष भेटघाट, परिचय तथा विचार आदानप्रदान कार्यक्रम न्युयोर्कमा भव्य रूपमा सम्पन्न भएको छ।
नोभेम्बर १३, २०२६ शुक्रबार साँझ ६ बजे न्युयोर्कको ज्याक्सन मार्केटमा आयोजित उक्त कार्यक्रममा डा. केसी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा न्युयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रममा डा. केसीले नेपालको सामाजिक विकास, शिक्षा, अनुसन्धान, उद्यमशीलता तथा आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवबारे विचार व्यक्त गरे। उनले शिक्षा र सामाजिक विकासलाई समृद्ध समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै ज्ञान, सीप, अनुभव र अवसरलाई समाजको हितमा उपयोग गर्नुपर्ने धारणा राखे।
व्यवस्थापन तथा सार्वजनिक प्रशासन विषयमा विद्यावारिधि गरेका डा. केसी शिक्षा, सामाजिक विकास तथा उद्यमशीलताको क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तित्व हुन्। उनले बेलायती राजदूतावास, जिटिजेड, एड्सक्याप नेपाल, युएनडब्लुजी जेनेभा, समाज कल्याण परिषद् तथा साउथ एसिया पार्टनरसिप नेपाललगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गरिसकेका छन्।
उनी साउथवेस्ट स्टेट कलेजका संस्थापक क्याम्पस प्रमुख, नेपाल प्राइभेट कलेज एसोसिएसनका अध्यक्ष तथा साउथवेस्ट सेन्टर फर पिएचडी स्टडिजका अध्यक्षलगायत विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहेका छन्।

डा. केसीले महात्मा बुद्ध शान्ति पुरस्कार, बेस्ट कलेज अवार्ड, नेपाल सम्मान २०७० तथा नेपाल विद्याभूषण (प्रथम श्रेणी) लगायतका सम्मान प्राप्त गरेका छन्।
कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी परिचय, अनुभव आदानप्रदान, सामाजिक सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
सन् २०१७ मा स्थापना भएको धादिङ नेपाली समाज अमेरिकाले अमेरिकामा रहेका धादिङवासी नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रममा न्युयोर्क एसेम्बली डिस्ट्रिक २७ का एसेम्बलीम्यान स्याम बर्गर र धादिङ समाज अमेरिकाद्वारा डा. राजेन्द्र केसीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सफल आयोजनाका लागि हामी नेपाली इन्टरनेसनलका संस्थापक अध्यक्ष नवराज केसी, धादिङ समाजका अध्यक्ष सागर अधिकारी तथा महासचिव हरि गिरीले सहभागी सम्पूर्ण अतिथि, समाजका सदस्य तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
– बेगम पण्डित, त्रिवेणी टाइम्स