२ मंसिर २०८३, बुधबार
18 November 2026, Wednesday

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीलाई जिताउन निरोशन डिकवेलाले २७ बलमा ७ चौका र २ छक्कासहित ५९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। यस्तै, कप्तान रोहितकुमार पौडेलले २१ र दिलीप नाथले अविजित १० रन बनाए। सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १-१ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ५२ रनको अर्धशतकीय पारी खेले। ईशान पाण्डेले २७ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले २-२ तथा किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए।

आजको हारपछि पनि सुदूरपश्चिमले अर्को मौका पाउनेछ। अब उसले बुधबार हुने काठमाडौँ गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।