एनपिएलमा विदेशी खेलाडीलाई उछिन्दै नेपाली खेलाडीको वर्चस्व
- १९ कार्तिक २०८३
- २ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा यसपटक नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ब्याटिङ र बलिङ दुवैतर्फ वर्चस्व कायम गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा विदेशी खेलाडीको मात्र दबदबा रहने विगतको परम्परालाई तोड्दै स्वदेशी युवा तथा अनुभवी खेलाडीहरूले विदेशी स्टारहरूलाई पछि पार्दै आफूलाई अब्बल साबित गरेका हुन् ।
ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली युवा ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् । उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटसहित दुई अर्धशतकको मद्दतमा १८८ रन बनाएका छन् । आक्रामक ब्याटिङ गरिरहेका लोकेशले वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल (१४१ रन) लाई समेत पछि पारेका छन् । यसैगरी, अन्य नेपाली ब्याटरहरू पवन सर्राफले १०३ र इमरान शेखले १०० रन जोड्दै व्यक्तिगत तथा टोलीको नतिजामा महत्त्वपूर्ण योगदान दिएका छन् ।
बलिङतर्फ पनि नेपाली खेलाडीकै दबदबा देखिएको छ । सर्वाधिक विकेट लिने बलरको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा उत्कृष्ट बलिङ गर्दै सात विकेट लिएर विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । सोमपालसँगै इङ्ग्ल्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युजले पनि समान सात विकेट लिएका छन् ।
यसैगरी, जनकपुर बोल्ट्सबाट खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव यस संस्करणका मुख्य आकर्षण बनेका छन् । उनले चार खेलमा छ विकेट लिँदै सबैको ध्यान तानेका छन् । उत्कृष्ट प्रदर्शनसँगै ‘प्लेयर अफ द म्याच’ समेत बनेका राहुललाई विदेशी खेलाडी मोइन अलीले ‘नेपाली मलिङ्गा’ को उपमा दिएका छन् । त्यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि चार खेलमा ६.१२ को उत्कृष्ट इकोनोमी रेटमा छ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका छन् ।
प्रतियोगितामा नेपाली खेलाडीको यस किसिमको प्रदर्शनलाई क्रिकेट विज्ञहरूले निकै सुखद सङ्केत मानेका छन् । विराटनगर किङ्सका निर्देशक तथा पूर्वराष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीले विदेशी खेलाडीसँग एउटै मञ्चमा प्रतिस्पर्धा गर्दै घरेलु खेलाडीले ‘प्लेयर अफ द म्याच’ जित्नु र तथ्याङ्कको शीर्ष स्थानमा पर्नु नेपाली क्रिकेटको विकास तथा भविष्यका लागि अत्यन्तै सकारात्मक भएको बताएका छन् ।