एनपिएल क्रिकेटः लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौँको लगातार दोस्रो जित
- १९ कार्तिक २०८३
- १ मिनेटको पढाई
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलहरूमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजले सानदार जित निकालेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले हरायो भने दोस्रो खेलमा काठमाडौँले विराटनगर किङ्समाथि ९ विकेटको सहज जित हात पार्यो।
पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि कप्तान हरमित सिंहले ३३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। बलिङतर्फ लुम्बिनीका डिआर्सी शर्टले ३ विकेट लिए। यो जितसँगै अपराजित रहेको लुम्बिनी ४ खेलबाट ७ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ।
त्यसैगरी, दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा जम्मा ८३ रनमै अलआउट भयो। विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने काठमाडौँका सन्तोष यादवले ३ विकेट लिए। ८४ रनको सामान्य लक्ष्य काठमाडौँले ९.४ ओभरमा मात्र १ विकेट गुमाएर सजिलै पूरा गर्यो। काठमाडौँको जितमा ओपनर डेभिड वार्नरले अविजित ४४ रन बनाए। यो लगातार दोस्रो जितसँगै काठमाडौँ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर पाँचौँ स्थानमा झरेको छ।