१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

कोप–३१: जलवायु मुद्दामा नेतृत्व लिने नेपाललाई अवसर

कोप–३१: जलवायु मुद्दामा नेतृत्व लिने नेपाललाई अवसर

आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) सुरु हुँदैछ। नोभेम्बर ९ देखि २० सम्म चल्ने यस सम्मेलनलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो जलवायु नेतृत्व स्थापित गर्ने ठूलो अवसरको रूपमा लिनुपर्ने विज्ञहरूले बताएका छन्।

जलवायुविज्ञ मञ्जित ढकालले बढ्दो तापक्रम र हिमाली क्षेत्रका जोखिमलाई ध्यानमा राख्दै नेपालले वित्तीय सहयोग र अनुकूलनका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले अतिकम विकसित मुलुक (एलडिसी) र अन्य हिमाली देशहरूसँग मिलेर साझा धारणा बनाउन सुझाव दिए। समान मुद्दा भएका देशहरूसँग गठबन्धन गर्दा वार्तामा नेपालको आवाज थप प्रभावकारी हुने उनको भनाइ छ।

सम्मेलनमा नेपालप्रति बढ्ने अन्तर्राष्ट्रिय चासोलाई जलवायु वित्त र पूर्वसूचना प्रणाली जस्ता दीर्घकालीन उपलब्धिमा बदल्नुपर्ने ढकालले बताए। अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त हुने वित्तीय प्रतिबद्धतालाई गाउँ तहसम्म पुर्‍याएर समुदायलाई बलियो बनाउन नागरिक समाजले पनि विशेष भूमिका खेल्नुपर्ने उनले औँल्याए।

कोप–३१ नेपालका लागि हिमाली क्षेत्रले भोगिरहेको सङ्कट, जलवायु न्याय र हानि तथा नोक्सानीको विषय विश्वसामु सशक्त रूपमा राख्ने महत्वपूर्ण मञ्च बन्नेछ।