१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

नागरिकले प्रहरी देख्दा डराउने होइन, भरोसा गरुन् : आईजीपी केसी

नागरिकले प्रहरी देख्दा डराउने होइन, भरोसा गरुन् : आईजीपी केसी

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई सधैँ पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि बोल्दै उनले संविधान र कानुनप्रति प्रतिबद्ध रहने प्रण गरे।

प्रहरी संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने उनको भनाइ छ। उनले जनतासँगको सम्बन्धलाई प्रहरीको महत्त्वपूर्ण पुँजी भनेका छन्। “नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरुन् र प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,” केसीले भने।

तल्लो तहदेखि सबै प्रहरी कर्मचारीको गुनासो सुन्न उनले आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र बनाउने घोषणा पनि गरे। उनले सीमित स्रोतसाधन, भवन अभाव, लामो ड्युटी समय, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्य जस्ता विषयमा गम्भीर भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता माग गर्दै उनले प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूसँग सहयोगसमेत मागेका छन्।