११ कार्तिक २०८३, बुधबार
28 October 2026, Wednesday

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा रु ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा रु ७९ अर्बको क्षति : आयोग

रसुवाको भोटेकोशीमा आएको बाढीले ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति गरेको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसायतर्फ ९ अर्ब ६० करोड रुपैयाँको क्षति भएको हो।

बाढीले ५४ हेक्टरभन्दा बढी घडेरी र ५०७ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। जग्गा र घर निर्माणतर्फ मात्रै झण्डै ६० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण २ हजार ९८९ घर पूर्ण रूपमा भत्किएका छन्।

त्यस्तै, खेतीबाली, भण्डारण गरेको अन्न र पशुपन्छीतर्फ ५५ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ। बाढीले १ अर्ब २४ करोडको सवारीसाधन र झण्डै ७ अर्ब रुपैयाँ बराबरको घरायसी तथा बहुमूल्य सामान बगाएको छ।

यस विपद्‌बाट ६ हजार ८१७ परिवारका झण्डै ३३ हजार मानिस र ४९९ वटा व्यवसाय प्रभावित भएका छन्। सबैभन्दा धेरै नुवाकोटमा ३ हजार ८४१ र रसुवामा १ हजार ९२० परिवार प्रभावित छन्। धादिङ र गोरखामा पनि बाढीले ठूलो असर गरेको छ।

आयोगले ४ जिल्लाका १५ स्थानीय तहमा १५६ जना कर्मचारी खटाएर विद्युतीय उपकरणमार्फत यो तथ्यांक संकलन गरेको हो।