न्युयोर्कमा प्रारम्भिक मतदान सुरु: पहिलो दिनमै उच्च सहभागिता, न्युजर्सीमा बमको धम्की
- ०९ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क र न्युजर्सीमा प्रारम्भिक मतदान सुरु भएको छ। न्युयोर्क सहरमा पहिलो दिन झन्डै ९० हजार मतदाताले मतदान गरेका छन् भने न्युजर्सीमा बमको धम्कीका कारण एउटा मतदान केन्द्र केही समय प्रभावित बनेको छ।
न्युयोर्क सहरको निर्वाचन बोर्डका अनुसार शनिबार पाँचवटा बरो (Boroughs) मा कुल ८६,२१५ जनाले मतदान गरेका छन्। यो सङ्ख्या सन् २०२२ को गभर्नर तथा मध्यावधि निर्वाचनको पहिलो दिनको तुलनामा झन्डै दोब्बर हो।
न्युयोर्क सहरका मेयर जोहरान ममदानीले मेट्रोपोलिटन म्युजियम अफ आर्टमा मतदान गर्दै डेमोक्रेटिक गभर्नर क्याथी होचुलको पुननिर्वाचनको पक्षमा समर्थन जनाएका छन्। गभर्नर होचुलले शनिबार बफेलोमा चुनावी अभियानमा सहभागी भएर मतदान गरेकी थिइन्। अर्कोतर्फ, न्युयोर्कका गभर्नर पदका रिपब्लिकन उम्मेदवार ब्रुस ब्लेकम्यानले मेयर ममदानी र गभर्नर होचुलको गठबन्धनको आलोचना गर्दै आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।
यसैबीच, न्युजर्सीको एसेक्स काउन्टीस्थित टर्टल ब्याक जु (Turtle Back Zoo) मा रहेको प्रारम्भिक मतदान केन्द्रमा बम राखिएको धम्की आएपछि शनिबार बिहान केन्द्र खाली गराइएको थियो। यद्यपि, सुरक्षाकर्मीको अनुसन्धानमा कुनै विस्फोटक पदार्थ नभेटिएपछि उक्त केन्द्र पुनः सञ्चालनमा आएको छ।
न्युयोर्क र न्युजर्सीमा आइतबार बिहानदेखि मतदान केन्द्रहरू पुनः खुला हुनेछन्।