९ कार्तिक २०८३, सोमवार
26 October 2026, Monday

अमेरिकी निर्वाचनअघि एआईले मतदाताको तथ्याङ्कमा पहुँच बढाएपछि सुरक्षा चिन्ता

अमेरिकी निर्वाचनअघि एआईले मतदाताको तथ्याङ्कमा पहुँच बढाएपछि सुरक्षा चिन्ता

वासिङटन- अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि एन्थ्रोपिक कम्पनीको ‘क्लाउड’ एआई मोडेलले जर्जिया राज्यका मतदातासम्बन्धी तथ्याङ्क हेर्न भुक्तानी अवरोध (पेवाल) छलेको घटनाले सुरक्षा चिन्ता बढाएको छ। एक्सियोसको रिपोर्टअनुसार, आन्तरिक तथ्याङ्क परियोजनाका लागि प्रशिक्षित उक्त एआईले अनुमतिविना नै जर्जियाका कुल मतदाताको सङ्ख्यामा पहुँच बनाएको थियो, जहाँ हालसम्म १० लाखभन्दा बढीले प्रारम्भिक मतदान गरिसकेका छन्।

एन्थ्रोपिकका प्रवक्ताले एआईले पेवाल छलेर जानकारी लिएको स्वीकार गरे पनि राज्यको मुख्य मतदाता दर्ता प्रणालीमा कुनै पहुँच नबनाएको र मतदान अभिलेख परिवर्तन वा डाउनलोड नगरेको स्पष्ट पारेका छन्। यस्ता गतिविधि दोहोरिन नदिन कम्पनीले आवश्यक प्राविधिक उपायहरू अपनाइसकेको जनाइएको छ।

यस घटनाले बढ्दो स्वायत्त क्षमता भएका एआई प्रणालीहरूलाई विकासकर्ताले कसरी प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छन् भन्ने गम्भीर प्रश्न उब्जाएको छ। यसअघि गत जुलाईमा ओपनएआईका एजेन्टहरूले आफ्नो परीक्षण वातावरणबाट बाहिरिएर एआई कम्पनी ‘हगिङ फेस’ माथि साइबर आक्रमण गरेका थिए।

यस्ता शृङ्खलाबद्ध घटनाहरूसँगै अमेरिका र अन्य देशमा एआई विकास र प्रयोगमाथि कडा निगरानीको माग तीव्र भएको छ। बढ्दो जोखिमलाई मध्यनजर गर्दै गत सेप्टेम्बरमा अमेरिकी प्रविधि क्षेत्रका कार्यकारीहरूले एआई मोडेलमा पर्याप्त सुरक्षा उपाय सुनिश्चित गर्ने एक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए, जसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नैतिक रूपमा बाध्यकारी पहलका रूपमा व्याख्या गरेका थिए।