८ कार्तिक २०८३, आइतवार
25 October 2026, Sunday

ममता काफ्ले हत्या प्रकरण: फोहोरको झोलामा पत्नी ममताको शव फ्याँकेको भिडियो अदालतमा प्रस्तुत

ममता काफ्ले हत्या प्रकरण: फोहोरको झोलामा पत्नी ममताको शव फ्याँकेको भिडियो अदालतमा प्रस्तुत

न्युयोर्क- अमेरिकाको भर्जिनियामा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या आरोप खेपिरहेका नरेश भट्टको मुद्दामा नयाँ प्रमाण फेला परेको छ। अदालतमा भर्खरै प्रस्तुत गरिएको भिडियोमा नरेशले सेतो पन्जा लगाएर विभिन्न ठाउँका फोहोर फाल्ने भाँडो (डम्पस्टर) मा फोहोरका कालो झोलाहरू फ्याँकेको देखिएको छ। सरकारी वकिलहरूले ती झोलामा ममताको शव रहेको दाबी गरेका छन्। नरेशले दुई दिनको अवधिमा कम्तीमा पाँच पटक यसरी झोला फ्याँकेका थिए।

उनले आफूमाथि लागेको हत्याको आरोप भने अस्वीकार गर्दै आएका छन्। यस मुद्दाको सुनुवाइ अक्टोबर २६ बाट फेरि सुरु हुँदैछ।

२८ वर्षीया नर्स ममता गत जुलाईको अन्तिमदेखि बेपत्ता थिइन्। सुरुमा नरेशले उनी हराएको रिपोर्ट गर्न मानेका थिएनन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको सुत्ने कोठा र बाथरुममा रगतको डोब भेटाएको थियो। त्यस्तै, नरेशले घटना हुनुअघि चक्कु र सरसफाइका सामान किनेको, आफ्नो टेस्ला कार बेचेको र सानी छोरीसहित भाग्नका लागि सुटकेस र पासपोर्ट तयार पारेर राखेको खुलेको थियो। उनले गुगलमा ‘श्रीमतीको मृत्युपछि अर्को बिहे गर्न कति समय लाग्छ’ र ‘मृत श्रीमतीको ऋण के हुन्छ’ जस्ता कुराहरू समेत खोजेका थिए।