श्रीमतीको हत्या आरोप लागेका नरेश भट्टले शव काट्न प्रयोग गरेको आरा मालीलाई दिएको खुलासा
- ०७ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- भर्जिनियामा आफ्नै श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको आरोप खेपिरहेका नरेश भट्टले शव टुक्राउन प्रयोग गरेको आशंका गरिएको आरा एक जना बगैँचे (माली) लाई दिएको खुलेको छ। अदालतमा बयान दिँदै बगैँचे होसे आयालाले उक्त कुराको जानकारी दिएका हुन्।
अदालतमा बयान दिँदै आयालाले सन् २०२४ अगस्ट १ तारिखका दिन नरेशले आफ्नो घरको बगैँचा सफा गर्ने काम दिएको बताए। तर, सामान्यतया लिने ४० डलर ज्यालाको सट्टा नरेशले पैसा नभएको भन्दै करिब दुई सय डलर पर्ने विद्युतीय आरा (स) दिएको उनले खुलाए।
ममता बेपत्ता भएको करिब तीन दिनपछि नरेशले उक्त आरा आयालालाई दिएका थिए। पछि सोही महिनाको अन्त्यतिर काम गर्न नरेशको घर पुग्दा आयालाले त्यहाँ प्रहरीको कडा निगरानी र ममताको सम्झनामा फूलहरू राखिएको देखेका थिए। छिमेकीबाट नरेश आफ्नी श्रीमतीको हत्या आरोपमा पक्राउ परेको थाहा पाएपछि आफू स्तब्ध भएको उनले बताए।
त्यसपछि साथीहरूसँगको सल्लाहमा उनले सेप्टेम्बर ९ मा उक्त आरा प्रहरीलाई बुझाएका थिए। सरकारी वकिलहरूका अनुसार उक्त आराभित्र रगत फेला परेको थियो। नरेशले ममताको हत्या गरेपछि शव टुक्राउन त्यही आरा प्रयोग गरेको अनुसन्धान अधिकृतहरूको दाबी छ।
ममता जुलाई २०२४ को अन्त्यतिरबाट हराएकी थिइन् र उनको शव अहिलेसम्म फेला परेको छैन। नरेशविरुद्ध पहिलो डिग्री हत्या, शव लुकाएको र शवको अनादर गरेको अभियोगमा मुद्दा चलिरहेको छ।