७ कार्तिक २०८३, शनिबार
24 October 2026, Saturday

गैरकानुनी मतदानविरुद्ध ट्रम्प प्रशासनको धरपकड: अमेरिकी नागरिकताका लागि आवेदन दिएका आप्रवासीहरू निसानामा

गैरकानुनी मतदानविरुद्ध ट्रम्प प्रशासनको धरपकड: अमेरिकी नागरिकताका लागि आवेदन दिएका आप्रवासीहरू निसानामा

न्युयोर्क-  क्यालिफोर्नियामा मतदाता जालसाजी (भोटर फ्रड) को आरोपमा यो साता संघीय अधिकारीहरूले पक्राउ गरेका अधिकांश आप्रवासीहरू अमेरिकी नागरिकताका लागि आवेदन दिएका व्यक्तिहरू रहेको खुलेको छ। उनीहरूमाथि सरकारी फाराम वा अन्तर्वार्ताका क्रममा झूटो विवरण पेस गरेको गम्भीर अभियोग लगाइएको छ, जसका कारण उनीहरूको नागरिकता पाउने प्रक्रिया रोकिनुका साथै वर्षौँसम्म जेल सजाय हुन सक्ने देखिएको छ।

सोमबार संघीय अधिकारीहरूले क्यालिफोर्नियामा गैरकानुनी रूपमा मतदान गरेको वा मतदाता नामावलीमा नाम दर्ता गराएको आरोपमा दुई दर्जनभन्दा बढी स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) पाएका व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेका छन्। कुल २८ जनामध्ये १० जनाको मुद्दाको विवरण सार्वजनिक भइसकेको छ।

पक्राउ पर्नेमध्येका एक ४२ वर्षीय होसे एन्टोनियो बानुएलोस-दियाज हुन्। ४० वर्षदेखि अमेरिकामा बस्दै आएका र ग्रिन कार्डधारी रहेका उनले सन् २०२५ को अक्टोबरमा नागरिकताका लागि आवेदन दिएका थिए। सन् २००७ मा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिने क्रममा उनले आफूलाई अमेरिकी नागरिक दाबी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराएको र पछि नागरिकताको फाराममा त्यसबारे झूट बोलेको आरोप सरकारले लगाएको छ। तर, उनले मतदान गरेको आरोप भने लगाइएको छैन।

सोमबार लस एन्जलसस्थित घरबाहिरबाट पक्राउ परेपछि मात्र आफू मतदाताका रूपमा दर्ता भएको थाहा पाएको दियाजले बताए। क्यालिफोर्नियामा ड्राइभिङ लाइसेन्स लिँदा स्वतः मतदाता नामावलीमा दर्ताका लागि सोधिने प्रक्रिया छ। “मैले कहिल्यै भोट हालेको छैन किनभने मलाई थाहा छ मैले भोट हाल्न पाउँदिनँ,” धरौटीमा रिहा भएका दियाजले भने, “यदि त्यतिबेला कुनै गल्ती भएको थियो भने उनीहरूले मलाई २० वर्षपछि होइन, त्यतिबेलै भन्नुपर्थ्यो।” दोषी ठहर भएमा उनलाई ५ वर्षसम्म जेल सजाय हुन सक्छ।

अमेरिकी कानुनअनुसार गैर-नागरिकले मतदान गरेमा अधिकतम एक वर्षसम्म जेल सजाय हुने सामान्य कसुर मानिन्छ। तर, नागरिकता आवेदनमा झूटो विवरण पेस गरेको ठहर भएमा १० वर्षसम्मको जेल र देश निकाला (डिपोर्ट) सम्म हुन सक्ने कडा व्यवस्था छ। न्याय विभागका अनुसार पक्राउ परेका २८ मध्ये ६ जनामाथि मात्र गैरकानुनी मतदानको सामान्य मुद्दा छ भने बाँकी २२ जनामाथि नागरिकता प्रक्रिया र फाराममा झूट बोलेको गम्भीर अभियोग (फेलोनी) लगाइएको छ।

अर्को एक घटनामा, फिलिपिन्सकी ५६ वर्षीया पामेला आर्बुएस लाइनलाई अक्टोबर १५ मा सान डिएगोमा नागरिकताको अन्तर्वार्ता सकिनेबित्तिकै पक्राउ गरियो। ४० वर्षअघि अमेरिका आएकी उनको आमा पछि अमेरिकी नागरिक बनेकी थिइन्। आमा नागरिक बनेपछि आफू पनि स्वतः नागरिक भएको भ्रममा परेर उनले मतदाता नामावलीमा नाम दर्ता गराएको र मतदान गरेको बताएकी छन्। तर, त्यतिबेला उनी १९ वर्षकी भइसकेकाले आमाको नागरिकताले उनलाई समेटेको थिएन। गत जुन महिनामा सामाजिक सुरक्षा कार्ड नवीकरण गर्न जाँदा मात्र आफू नागरिक नभएको थाहा पाएर सोही दिन नागरिकताका लागि आवेदन दिएको उनले बताएकी छन्। उनलाई कम्तीमा १० वर्षको जेल सजाय हुन सक्ने बताइएको छ।

अभियोग खेप्ने अर्की व्यक्ति अमनदीप कौर हुन्, जो ८ वर्षदेखि अमेरिकामा छिन् र नागरिकता पाउने प्रक्रियामा थिइन्। उनका श्रीमान् कुलविन्दर सिंहका अनुसार अमनदीपलाई अंग्रेजी भाषामा समस्या भएकाले सन् २०२४ मा हिन्दी भाषामा परीक्षा दिएर ड्राइभिङ लाइसेन्स लिएकी थिइन्। त्यही बेला अन्जानमा मतदाता नामावलीमा नाम दर्ता भएको हुन सक्ने र पछि हुलाकबाट आएको मतपत्रलाई सामान्य दर्ता फाराम ठानेर भरेर पठाएको सिंहले बताए। हाल यो मुद्दाले श्रीमती विक्षिप्त बनेर रोइरहने गरेको उनले दुखेसो पोखे।

आगामी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्प प्रशासनले गैर-नागरिक मतदान रोक्ने भन्दै यो अभियान तीव्र पारेको हो। यद्यपि, यस्ता घटनाहरू अत्यन्तै नगण्य हुने र यसले चुनावी नतिजामा कुनै असर नपार्ने विभिन्न तथ्यांकहरूले देखाएका छन्। न्याय विभागले करिब २० हजार शंकास्पद मतदाताको नागरिकता प्रमाणीकरण नगरेको भन्दै क्यालिफोर्निया राज्यविरुद्ध मुद्दा समेत हालेको छ।

यसका साथै ट्रम्प प्रशासनले नागरिकता प्रदान गर्ने प्रक्रियालाई पनि निकै सुस्त बनाएको छ। सरकारी तथ्यांकअनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्मको अवधिमा ५८ हजार जनाको मात्र नागरिकता आवेदन स्वीकृत भएको छ, जुन सन् २०२५ को सोही अवधिको तुलनामा एक चौथाइभन्दा पनि कम हो।