सर्बिया पठाउने प्रलोभनमा दिल्लीमा बन्धक बनाइएका तीन नेपालीको उद्धार
- ०७ मंसिर २०८३
- १ मिनेटको पढाई
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा भारतको नयाँदिल्लीस्थित एक होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन जना नेपालीको सकुशल उद्धार गरिएको छ। सामाजिक संस्था ‘किन इन्डिया’सहित नेपाल र भारतका सुरक्षा निकायको संयुक्त पहलमा उनीहरूलाई शनिबार उद्धार गरिएको हो।
सगरमाथा आरोही कल्पना महर्जनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नयाँदिल्लीस्थित नेपाली राजदूतावास, दिल्ली प्रहरी र किन इन्डियाले तत्काल सक्रियता देखाएका थिए। सम्बन्धित निकायहरूबीचको समन्वय र संयुक्त प्रयासपछि तीनै जना नेपाली नागरिकलाई बन्धक अवस्थाबाट सकुशल उद्धार गर्न सफल भएको उनले बताइन्।
किन इन्डियाका निर्देशक नवीन जोशीले अवैध मानव ओसारपसार समूहले सर्बिया पठाउने आश्वासन दिएर उनीहरूलाई दिल्ली पुर्याएको जानकारी दिए। रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक रहेको उनले बताए।