७ मंसिर २०८३, सोमवार
23 November 2026, Monday

अमेरिकाबाट निष्कासित २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट निष्कासित २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन्। दुई महिलासमेत रहेको उक्त समूह शुक्रबार स्थानीय समयअनुसार राति ९:३५ बजे लाइबेरिया पुगेको त्यहाँको स्वदेश फिर्ती, पुनर्वास तथा पुनःएकीकरण आयोगले जनाएको छ।

आयोगका अनुसार निष्कासित हुनेमा अधिकांश दक्षिण अमेरिकी मुलुकका नागरिक छन्। यद्यपि, उनीहरूको राष्ट्रियताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रण नीतिअन्तर्गत पछिल्लो चार महिनायता लाइबेरियामा निष्कासित आप्रवासी आइरहेका छन्। लाइबेरियाले एक वर्षको अवधिमा एक हजार २०० जनासम्म विदेशी नागरिकलाई आश्रय दिने घोषणा गरिसकेको छ।

अमेरिकाबाट निष्कासित व्यक्तिलाई स्वीकार गर्ने अफ्रिकी मुलुकहरूमा लाइबेरियासँगै सियरा लियोन, इक्वेटोरियल गिनी, घाना, रुवान्डा, दक्षिण सुडान, क्यामरुन, इस्वाटिनी र प्रजातान्त्रिक गणतन्त्र कङ्गो छन्। यस्तो सहमतिमा अमेरिकाले आर्थिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराउने गरेको बताइएको छ।

लाइबेरिया सरकारले भने निष्कासित व्यक्तिलाई स्वीकार गरेबापत कुनै क्षतिपूर्ति वा पुरस्कार नमागेको र नलिएको दाबी गर्दै आएको छ। तर, द न्युयोर्क टाइम्सले सार्वजनिक कागजातलाई उद्धृत गर्दै आप्रवासी स्वीकार गर्न सहमति जनाएपछि अमेरिकी विदेश मन्त्रालयले लाइबेरियालाई ५० लाख अमेरिकी डलर उपलब्ध गराएको उल्लेख गरेको छ।