७ मंसिर २०८३, सोमवार
23 November 2026, Monday

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुनः परिभाषित गर्नुपर्नेमा जोड

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुनः परिभाषित गर्नुपर्नेमा जोड

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई समयअनुसार पुनः परिभाषित गर्नुपर्नेमा दुवै देशका सरोकारवालाले जोड दिएका छन्। नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार काठमाडौँमा आयोजित एसियाली सांस्कृतिक सम्पदा विषयक कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा इन्डिया फाउन्डेसनकी रमी नीरञ्जन देसाईंले नयाँ पुस्ताको सोच र आकाङ्क्षा बदलिँदै गएकाले दुवै देशले सांस्कृतिक नीतिमा आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने बताइन्। नेपालका शोधकर्ता अशोक राई प्यासीले युवालाई आफ्नै संस्कृतिबारे जानकार गराउँदै सिर्जनशील र दक्ष बनाउन नेपाल र भारतले मिलेर काम गर्न सक्ने उल्लेख गरे।

भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीनिवास बरखेडीले नेपाल र भारतबाट सुरु भएको संस्कृतिले समग्र एसियालाई उज्यालो बनाइरहेकाले यसको विशुद्धता जोगाउनुपर्नेमा जोड दिए। यस्तै, भारतीय प्राध्यापक माधुरी सुखिजाले सांस्कृतिक, शैक्षिक र खेलकुद सम्बन्धलाई संस्थागत गर्दै संयुक्त शैक्षिक कार्यक्रम अघि बढाउनुपर्ने बताइन्। प्रविधिको तीव्र विकाससँगै बदलिएको अवस्थामा पुरानो विरासतले मात्र नपुग्ने भएकाले नयाँ नीति आवश्यक रहेको उनको भनाइ थियो।

भारतीय विद्वान् प्राध्यापक सरुपप्रसाद घोष र आनन्दकुमार श्रीवास्तवले दुवै देशले युवामा देखिएको प्रतिभा पलायन र बसाइँसराइको चुनौतीलाई मिलेर सामना गर्नुपर्ने बताए। दुवै देशमा ४० प्रतिशतभन्दा बढी युवा जनसङ्ख्या रहेकाले सीप विकास र रोजगारीमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो। नेपालमा स्थिर सरकार रहेकाले सहकार्यको सहज वातावरण बनेको उल्लेख गर्दै श्रीवास्तवले नेपालका प्राङ्गारिक उत्पादनले भारतमा राम्रो बजार पाउन सक्ने भएकाले युवालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने बताए।