५ मंसिर २०८३, शनिबार
21 November 2026, Saturday

बाढीपीडितको राहत र पुनःस्थापनामा तीव्रता दिन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह

बाढीपीडितको राहत र पुनःस्थापनामा तीव्रता दिन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा–भोटेकोशी बाढी प्रभावितको राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्रता दिन आग्रह गरेका छन्। राष्ट्रिय योजना आयोग, पूर्वाधार विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरूसँग आज भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन्।

छलफलमा मन्त्री तिमिल्सिनाले प्रभावित परिवारको विवरण सङ्कलन, राहत वितरणको अवस्था र राहत कोषको खर्चबारे जानकारी लिए। सरकारले आवश्यक रकमको व्यवस्था गरे पनि वास्तविक विवरण सङ्कलनमा ढिलाइ हुँदा राहत वितरण प्रभावित भएको उनले औँल्याए। वास्तविक पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलनलाई प्राथमिकता दिन आग्रह गर्दै उनले कुनै प्रक्रियागत वा प्रशासनिक कठिनाइ आए सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले राहत तथा पुनःस्थापनाका लागि विस्तृत विवरण सङ्कलन भइरहेको जानकारी दिए। उनले स्थानीय तहसँग समन्वय गरी राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइने बताए। यस्तै, विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले स्थानीय तहबाट प्रभावितको तथ्याङ्क आउन ढिलाइ भइरहेको बताए। स्थानीय तहको विवरण प्रमाणीकरणपछि मात्र राहत वितरण गर्न सकिने उल्लेख गर्दै उनले केही दिनभित्रै रसुवाको उत्तरगया गाउँपालिकाबाट राहत वितरण सुरु गर्ने तयारी रहेको जानकारी दिए।

सरकारले गत भदौ २५ गतेको निर्णयअनुसार सङ्कटग्रस्त घोषित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहमा पूर्ण रूपमा घर क्षति भएका परिवारलाई घरभाडाबापत तत्काल राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। जसअनुसार चार जनासम्म सदस्य भएका परिवारले १५ हजार रुपैयाँ र त्यसभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति थप दुई हजार रुपैयाँका दरले राहत पाउनेछन्।