१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

एक महिनामै ६४ हजारभन्दा बढी भक्तजनद्वारा पाथीभरा दर्शन

एक महिनामै ६४ हजारभन्दा बढी भक्तजनद्वारा पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा यस महिनामा सबैभन्दा धेरै भक्तजन पाथीभरा पुगेका हुन्।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार एकैदिन ११ हजार २७२ जनाले मन्दिरको दर्शन गरेका थिए, जुन पछिल्लो तीन वर्षयताकै एकै दिनको सबैभन्दा उच्च सङ्ख्या हो। त्यस्तै, कात्तिक १७ गते १० हजार ६१६ जनाले दर्शन गरेका थिए। यसअघि असोजमा ११ हजार ९३०, भदौमा ६ हजार १२३ र साउनमा २ हजार ४६९ जना भक्तजन त्यहाँ पुगेका थिए।

पाथीभराको दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहेको छ। यहाँ बर्सेनि ३ लाखभन्दा बढी स्वदेशी तथा विदेशी भक्तजनहरू दर्शनका लागि पुग्ने गर्छन्।