१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

राष्ट्रलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित दक्षिणकालीमा ‘महालक्ष्मी विशेष साधना’ सुरु

राष्ट्रलाई ऋणमुक्त बनाउने सङ्कल्पसहित दक्षिणकालीमा ‘महालक्ष्मी विशेष साधना’ सुरु

काठमाडौं- नेपाल महर्षि वैदिक फाउन्डेसनले देशलाई ऋणमुक्त गराएर समृद्ध बनाउने उद्देश्यले तीन दिने ‘महालक्ष्मी विशेष साधना’ र ‘महारुद्राभिषेक यज्ञ’ सुरु गरेको छ। यो अनुष्ठान दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा भइरहेको छ।

वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आएको ५२ औँ वार्षिकोत्सवको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो। फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न देश ऋणमुक्त हुनुपर्ने भएकाले यो साधना गरिएको बताए। उनले मङ्गलबारसम्म चल्ने साधनामा श्री सूक्तको पाठ र जप भइरहेको जानकारी दिए।

शास्त्रीय विधिअनुसार भइरहेको यज्ञमा ५७ जना पण्डितले रुद्री, १३ जनाले चण्डी, १५ जनाले हवन, तीन जनाले नवग्रह र एक जनाले वेद पाठ गरिरहेका छन्। अनुष्ठानका कर्ता डिल्लीराम अधिकारीले यसबारे जानकारी दिएका हुन्।

यज्ञको दोस्रो दिन प्राध्यापक भवानीप्रसाद खतिवडाले प्रवचन दिँदै मानिसले जीवनमा ऊर्जा र शक्ति प्राप्त गर्न भावातीत ध्यानको नियमित अभ्यास गर्नुपर्नेमा जोड दिए। अध्यक्ष बास्कोटाका अनुसार मङ्सिर १ गते मङ्गलबार विशेष कार्यक्रम गरेर यो यज्ञ समापन गरिनेछ।